Wednesday, January 6, 2016

कुवेत जेलमा पुगेकी शोभालाई उकासेर साहुले माग्यो चार लाख

By on 4:48 AM
काठमाडौं, तीन हप्ताअघि कुवेतको जेलमा परेकी मकवानपुरकी शोभा तामाङलाई साहुले घरमा लगेर थुनेको छ । कुवेतस्थित नेपाली दूतावासका कर्मचारीको सल्लाहमा घर फर्किन जेलमा गएकी तामाङलाई उहाँले काम गर्ने घरको साहुले जेलबाट निकालेर लगेको हो । शोभालाई अहिले घरमा थुनिएको उहाँका दिदी टिका तामाङले जानकारी दिनुभयो । लामो समयदेखि नेपाल फर्किन कोशिस गरिरहेकी शोभालाई साहुले घर फर्किन दिएको छैन । नेपाल फर्किनु पहिले साहुले एक हजार केडी मागेको छ । चार लाख रुपैयाँ नबुझाएसम्म फर्किन नदिने बताएको कुवेतमै कार्यरत चितवनका तिर्थ थापाले जानकारी दिनुभयो । उहाँले परिवारमा खबर गरेर तत्काल रकम पठाउन पनि भन्नु भएको छ । तर परिवारले थापालाई चिनेका छैनन् ।
शोभा तामाङलाई फोन गर्दा तिर्थले उठाएर घटना जानकारी गराएको परिवारले बताएका छन् । अढाई वर्षअघि कुवेत पुगेकी शोभाले जति काम गर्दापनि पैसा नपाएपछि घर फर्किन खोज्नु भएको थियो । तर साहुले पासपोर्ट नदिएपछि घर फर्कन सक्नु भएको थिएन । पासपोर्ट माग्दा साहुले उल्टै पैसा माग्दै आएको थियो । लामो समयसम्म पैसा नपाएपछि दूतावासमा सम्पर्क गरेकी शोभालाई दूतावासका कर्मचारीले जेलमा जान सल्लाह दिएपछि उहाँ भागेर जेल जानु भएको थियो । 
तीन सातापछि मंगलबार साहु आएर जेलबाट निकालेर लगेको र अहिले घरैमा थुनिरहेको छ । आफन्त उहाँलाई नेपाल फर्काउन हार गुहार गरिरहेका छन् । शोभाको उद्धारका लागि सहयोग गर्न दिदी टिका तामाङले आग्रह गर्नुभयो ।  शोभालाई दलालले कुवेतमा लगेर एउटा घरमा जिम्मा लगाएको थियो । १४ महिनासम्म कमाई थोरै र काम कडा भएपनि काम गरिरहेकी शोभा बिरामि भएपछि घर फर्किन खोजेपनि पाउनु भएन ।
उहाँलाई त्यो घरमा पठाउने अफिसमा जाँदा अफिसले उपचारमा सहयोग गरेपनि घर फर्कन दिएन । अर्को घरमा पठायो । पहिला काम गरेको घरबाट पाउन बाँकी रकम पनि शोभालाई हात लागेन । अन्य नेपालीको सहयोगमा फेरी अर्को घरमा काम थालेपनि पैसा नपाएपछि उहाँ भागेर जेल जानु भएको हो । अहिले शोभालाई जेलमा भन्दा समस्या भएको तिर्थले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment